News कपिलवस्तुलाई निराश पार्दै भैरव सेमिफाइनलमा
सुरज राना मगर

सालझण्डी । भैरव एफसी, नवलपरासी यहाँ जारी चौथो सैनामैना मेयर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको अन्तिम क्वाटरफाइनलमा भैरवले कपिलवस्तु–११ माथि शून्यका विरुद्ध ३ गोलको जित निकाल्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पानबारी खेलमैदानमा भएको खेलको १९औं मिनटमा कप्तान सनम तामाङको गोलबाट भैरवले खेलमा अग्रता लिएको थियो । ३५औं मिनटमा मनिष चौधरीले त्यो अग्रता दोब्बर बनाए । त्यस्तै ५७औं मिनटमा बिक्रम पौडेलले तेस्रो गोल गर्दै भैरवको जित सुनिश्चित गरे ।

खेलमा भैरवका कप्तान सनम तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १,१११ रुपैयाँ र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत्र ७ गतेको पहिलो सेमिफाइनल खेल विश्व शान्ति युवा क्लब र फर्साटिकर युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।

कन्दरा युवा क्लब, सालझण्डीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तुल्सी पौडेलले बताए ।

सैनामैना नगरपालिका र नगर खेलकुद समितिको संरक्षकत्व रहेको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए । फाइनल खेल यहि चैत्र १० गतेका दिन हुनेछ ।

Post Comments