News गोर्खा ब्वाईजलाई भोजपुर गोल्डकपको उपाधि
गोलनेपाल

भोजपुर । शानदार जितका साथ गोर्खा ब्वाईज स्पोर्टस क्लब यहाँ सम्पन्न पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको विजेता बनेको छ । सोमबार सम्पन्न फाइनलमा आमुक्ता परिवार, पश्चिम बंगाल (भारत) माथि ५–० को फराकिलो जित निकाल्दै गोर्खा ब्वाईजले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

गोर्खा ब्वाईजका लागि फोफोना र यानिकले २–२ गोल गरे । फोफोनाले खेलको ३८ र ४७औं मिनटमा गोल गरे भने यानिकले ५२ र ७३औं मिनटमा गरेका थिए । त्यस्तै थप एक गोल भने सुशम तामाङले ६४औं मिनटमा गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच गोर्खा ब्वाईजका फोफोना घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे ।

विजेता बनेको गोर्खा ब्वाईजले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता आमुक्ता परिवारले ३ लाखमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी गोर्खा ब्वाईजका सुशिल यादव चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक गोर्खा ब्वाईज कै देव लिम्बु घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि गोर्खा ब्वाईज कै एबोडे बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर पनि गोर्खा ब्वाईज कै सुनिल खड्का घोषित हुँदा उत्कृष्ट प्रशिक्षक पनि गोर्खा ब्वाईज कै जग्गुनाथ खड्का चुनिए ।

उदियमान खेलाडी आयोजक भोजपुरका प्रबिन राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार गोर्खा ब्वाईजका यानिक र आमुक्ता परिवारका सौरभ तामाङले संयुक्त रुपमा हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार हात पारे । विजयी खेलाडीहरुलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजन तथा भोजपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका गरि कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments