News संघर्षपुर्ण जितका साथ फर्साटिकर फाइनलमा
सुरज राना मगर

सालझण्डी । फर्साटिकर युवा क्लब यहाँ जारी चौथो सैनामैना मेयर कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली विश्व शान्ति युवा क्लबलाई सडन डेथमा ८–७ ले हराउँदै फर्साटिकर उपाधि नजिक पुगेको हो ।

सैनामैना–१० सालझण्डी स्थित पानबारी खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो । टाईब्रेकरमा पनि नतिजा ननिस्किएपछि सडन डेथमा फर्साटिकर विजयी बन्न सफल भएको थियो ।

निर्धारित समयतर्फ फर्साटिकरका लागि दुवै गोल प्रिजेन तामाङले गरेका थिए भने उता विश्व शान्तिका लागि रुप बहादुर लामा र अजयी मार्टिन्सले गोल गरेका थिए । खेलमा फर्साटिकरका प्रिजेन तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद १,१११ रुपैयाँसहित ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत्र ८ गतेको दोस्रो सेमिफाइनल खेल भैरव एफसी र एकता युवा क्लबबीच हुने आयोजक कन्दरा युवा क्लब, सालझण्डीका अध्यक्ष तुल्सी पौडेलले जानकारी दिए ।

सैनामैना नगरपालिका र सैनामैना नगर खेलकुद समितिको संरक्षकत्व रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १० गतेका दिन हुनेछ ।

Post Comments