News अन्तिम खेलमा पनि हार्यो नेपाल
गोलनेपाल

काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । अघिल्ला खेलहरुमा भन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले बुधबार साविक विजेता बंगलादेशसँग २–१ ले पराजित भएको हो ।

जमशेदपुर स्थित जेआरडी टाटा स्पोर्टस कम्प्लेक्समा सम्पन्न खेलको चौथो मिनट मै अमिषा कार्कीको गोलबाट अग्रता बनाएको नेपालले त्यसलाई दोस्रो हाफमा गुमाउन पुगेको थियो । बंगलादेशका लागि ६८औं मिनटमा कप्तान शमसुन्नहारले बराबरी गोल फर्काईन भने ८४औं मिनटमा शहदा अक्तर रिपाले निर्णायक गोल गर्दै बंगलादेशको जित पक्का गरेकी थिईन् ।

यो नतिजासँगै एउटै खेल नजिती अंकविहीन रुपमा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । उता बंगलादेशको र भारतको समान ६–६ अंक छ र दुवैको उपाधि जित्ने सम्भावना कायम छ । यद्यपि हेड टु हेडका आधारमा भने भारत अगाडी छ । प्रतियोगिताको निर्णायक खेलमा शुक्रबार भारत र बंगलादेश भिड्ने छन् । यी दुईको नतिजाले च्याम्पियनको टुंगो लाग्नेछ ।

दक्षिण एसियाका मात्र तीन टोलीहरुको सहभागिता रहेको प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा जारी छ । बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने नेपाल उपविजेता समेत हो ।

Post Comments