News फर्साटिकरलाई चौथो सैनामैना मेयर कपको उपाधि
सुरज राना मगर

सालझण्डी । चौथो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर युवा क्लबले जितेको छ । बिहीबार सम्पन्न फाइनल भिडन्तमा भैरव एफसी, नवलपरासीलाई टाईब्रेकरमा ५–३ ले हराउँदै फर्साटिकर च्याम्पिय बनेको हो ।

सैनामैना–१० सालझण्डी स्थित पानबारी खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक १–१ गोलको बराबरी खेलेका थिए । फर्साटिकरले खेलको शुरुवात मै बनाएको अग्रता अन्तिम समयमा गुमाउन पुगेपछि जित हात पार्न टाईब्रेकरसम्म संघर्ष गर्नुपरेको थियो ।

खेलको पाँचौं मिनट मै अफ्रिकी खेलाडी यमिको गोलबाट अग्रता बनाएको फर्साटिकरले त्यसलाई अन्तिम समयमा गुमाउन पुग्यो । खेलको अन्तिमतिर इन्जुरी समयमा भैरवका कप्तान सनम तामाङले गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । तर, टाईब्रेकरमा भैरव निराश बन्न पुग्यो ।

विजेता बनेको फर्साटिकरले उपाधिसहित २ लाख ५५,५५५ रुपैयाँ हात पार्यो भने भैरवले १ लाख २५,५५५ रुपैयाँमा चित्त बुझायो । त्यस्तै सेमिफाइनलमा पराजित भएका दुई टोली विश्व शान्ति युवा क्लब र एकता युवा क्लबले जनही २१, ५५५ रुपैयाँका दरले पुरस्कार प्राप्त गरे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक भैरवका प्रदिप भण्डारी घोषित भए । उनले पुरस्कार वापत २५ हजार बराबरको एक थान मोबाईल सेट हात पारे । त्यस्तै उत्कृष्ट डिफेन्डर फर्साटिकरका मान बहादुर तामाङ, मिडफिल्डर भैरवका मोहन थापा, सर्वाधिक गोलकर्ता कपिलवस्तुका आशिष जिसी, अनुशाषित खेलाडी फर्साटिकरका प्रिजेन तामाङ, उत्कृष्ट प्रशिक्षक फर्साटिकरका धर्मेन्द्र चौधरी चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५,५५५ रुपैयाँ र ट्रफी हात पारे ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बनेका भैरवका कप्तान सनम तामाङले एक थान माउण्टेन बाइसाईकलका साथै एक वर्षका लागि नेपाल लाईफ इन्स्योरेन्सबाट बिमित समेत बने ।

विजयी खेलाडीहरुलाई सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर केसी, उपमेयर बिना राना, आयोजक कन्दरा युवा क्लबका अध्यक्ष तुल्सी पौडेल लगायत अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments