News जगदम्बा जीतपुरसिमरा गोल्डकप सुरु, सुदूरपश्चिमको विजयी सुरुवात
गोलनेपाल

फ्रेण्ड्स क्लबलाई स्तब्ध पार्दै धनगढीको सुदुरपश्चिम ११ ले जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

सिमरा रंगशालामा विहिवार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले फ्रेण्डसलाई ३-१ ले पराजित गरेको हो । जीतसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरको छ ।

सुदूरपश्चिमको जीतमा धनराज थापा, दिपांकराज सिंह र फागुराम थारुले समान एक=एक गोल गरे । फ्रेण्ड्सका लागि प्रेमबहादुर भण्डारीले एक गोल फर्काए ।

खेलको सुरुवातदेखी फ्रेण्ड्सविरुद्ध आक्रामक देखिएको सुदूरपश्चिमले २२औं मिनेटमा अग्रता लिएको थियो । डिबक्स भित्रबाट धनराजले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

सुदूरपश्चिमविरुद्ध खासै अवसर बनाउन नसकेको फ्रेण्ड्सको फिनिसि» पक्ष कमजोर देखियो । पहिलो हाफमा अग्रता लिएको सुदूरपश्चिमले दोस्रो हाफको सुरुवातमै गोलअन्तर दोब्बर पारेको थियो ।

खेलको ५४औं मिनेटमा दिपांकराज सिंहले प्रहार गरेको बल फ्रेण्डस्का गोलरक्षक अभिशेक बरालले सहजै नियन्त्रणमा लिन खोज्दा जाली चुम्न पुगेको थियो । डिबक्स बाहिरबाट थापाले प्रहार गरेको बल बरालको हातबाट फुस्किएर गोल भएको हो ।

खेलमा लगातार अवसर बनाएको सुदूरपश्चिमविरुद्ध खेलको ८२औं मिनेटमा गोल गर्दै फ्रेण्ड्सले खेल २-१ को स्थितीमा ल्याएको थियो । फ्रेण्ड्सका प्रेमबहादुर भण्डारीले करिब ३० यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । भण्डारीको आकर्षक गोलबाट फ्रेण्ड्सले खेलमा फर्कन खोजेपनि सुदूरपश्चिम लगत्तै तेस्रो गोल थपेको थियो ।

फ्रेण्ड्सले गोल गरेको एक मिनेटमै सुदूरपश्चिमका फागुराम थारुले गोल गरेका हुन् । ८३औं मिनेटमा फ्रेण्ड्सको कमजोर रंक्षापक्तीको फाईदा उठाउदै फागुरामले सुदूरपश्चिमका लागि गोल गरेका थिए । उनको गोलसंगै सुदूरपश्चिमले फ्रेण्ड्समाथी ३Ð१ को सहज जीत निकालेको हो ।

खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका दिपांकराज सिंह घोषित भए । उनले नगद पाँच हजार र ट्रफि प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शुक्रवार बिएफसी चितवन र बाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ ।

यसअघि प्रतियोगिताको उद्घाटन मधेसका प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले सिमरा रंगशालाको पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । आयोजकले यस वर्ष प्रथम पुरस्कार राशीमा तीन लाख र द्धितीय पुरस्कारमा एक लाख पचास हजार बृद्धि गरेको छ । ११औं संस्करणमा प्रथम पुरस्कार सात लाख र द्धितीय पुरस्कार तीन लाख पँचास हजार थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । प्रतियोगिता अवधीभरी उत्कृष्ट प्रदर्शन गर्ने विधागत पुरस्कारतर्फ गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता, प्रशिक्षकले जनही २० हजार नगद प्राप्त गर्नेछन् । आयोजकले यस वर्षपनि उदयीमान स्थानिय खेलाडीलाई १५ हजार नगदले पुरस्कृत गरिने लामाले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा आयोजना भएको प्रतियोगिताको अनुमानित लागत करिब ८३ लाख रहेको छ । मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा पहिचान स्थापित गरिसकेको प्रतियोगितालाई यस वर्षदेखी सिमरामा रहेको जगदम्बा स्टील्स्ले मुख्य प्रायोजन गरेको हो । प्रतियोगितालाई सौर्य सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सुर्य नेपाल, हुलास स्टील्स्, क्याल ग्रुप, अमृत घ्युले सहप्रायोजकको रुपमा सहकार्य गरेका छन् ।

Post Comments