News हारसँगै सकियो नेपालको थाइल्याण्ड भ्रमण
गोलनेपाल

काठमाडौं । फिफाको इन्टरनेशनल ब्रेकतर्फ मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली फुटबल टोलीले त्यहाँ खेलेको दुवै खेलमा हार बेहोरेर थाइल्याण्ड भ्रमणको समापन गरेको छ ।

आफ्नो दोस्रो मैत्रीपूर्ण फुटबल म्याचतर्फ नेपालले आइतबार थाई प्रिमियरशिप क्लब चोनबरी फुटबल क्लबसँग ३–१ को निराशाजनक हार बेहोर्यो । चोनबरी स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि २४औं मिनटमा फान्तामिथ प्रफान्तले पहिलो गोलको खाता खोलेका थिए ।

६५औं मिनटमा रेनाटो केलिकले चोनबरीको त्यो अग्रता दोब्बर पारे । ८३औं मिनटमा दर्शन गुरुङले नेपालका लागि सटिक गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । खेलको अन्तिमतिर चोनबरीले तेस्रो गोल थपेपछि नेपालको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो ।

स्मरण रहोस, नेपालले यसअघि बिहीबार मात्र थाइल्याण्डको राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । सो खेलमा पनि नेपालले २–० को हार बेहोर्न विवश बनेको थियो ।

नेपालले आउँदो जुनमा हुने एएफसी एसियन कप छनौटको तयारीका रुपमा थाइल्याण्ड भ्रमण गरेको थियो । छनौट प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले कुवेत, जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । समूह ए का सबै खेलहरु कुवेतमा हुनेछन् ।

Post Comments