News विन्दवासिनी भरौल गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

बराहक्षेत्र । सात गोलको थ्रीलर खेलमा उत्कृष्ट जित निकाल्दै विन्दवासिनी फुटबल क्लब, बिराटनगर यहाँ जारी वाईवाई पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा रेड हर्ष क्लब, इलामलाई ५–२ ले हराउँदै विन्दवासिनी अन्तिम चारमा प्रवेश गरेको हो । भरौल खेलमैदानमा सम्पन्न खेलको १९औं मिनटमा हेमन्त थापा मगरको गोलबाट विन्दवासिनीले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।

तर ४६औं मिनटमा रोमन भुजेलले रेड हर्षका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । खेलको रोमाञ्चकता त्यति मै रोकिएन । ५९औं मिनटमा यानिकले विन्दवासिनीलाई फेरि खेलमा अग्रता दिलाए । ७३औं मिनटमा सुनिल खड्काले तेस्रो गोल गर्दा त्यसको एक मिनट लगतै फोफोनाले चौथो गोल थपे ।

उता रेड हर्षका लागि ८१औं मिनटमा पासाङ लामाले पेनाल्टीबाट दोस्रो गोल थपे पनि त्यसको एक मिनट लगतै फेरि इलामेली टोलीले गोल खान पुगेको थियो । ८२औं मिनटमा फोफोनाले पेनाल्टीबाट व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै विन्दवासिनीको रोमाञ्चक जित पक्का गरेका थिए ।

खेलमा विन्दवासिनीका हेमन्त थापा मगर म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी एन्फाका केन्द्रिय सदस्य दावा लामाले नगद ५ हजार र ट्रफीसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत चैत्र १४ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक न्यू स्टार क्लब, बराहक्षेत्र र प्लानिङ ब्वाईज कलब, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।

न्यू स्टार क्लबको आयोजना तथा बराहक्षेत्र नगरपालिकाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १९ गतेका दिन हुनेछ ।

 

Post Comments