News आयोजकलाई हराउँदै प्लानिङ ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । आयोजक न्यू स्टार क्लबमाथि रोमाञ्चक जित निकाल्दै प्लानिङ ब्वाईज क्लब, काठमाडौं यहाँ जारी वाईवाई पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा प्लानिङ ब्वाईजले आयोजक न्यु स्टारको चुनौति ३–२ ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । भरौल खेलमैदानमा भएको खेलमा अग्रता भने आयोजकले लिएको थियो । ३५औं मिनटमा मिलन राईको गोलबाट अग्रता बनाएको न्यु स्टारले त्यसलाई गुमाउन पुग्यो ।

प्लानिङ ब्वाईजले ४८औं मिनट मै बराबरी गोल फर्काउन सफल भएको थियो । ६५औं मिनटमा हरि भट्टले प्लानिङ ब्वाईजका लागि दोस्रो गोल गरे भने ८०औं मिनटमा प्रताप राईले तेस्रो गोल गरे । जुन गोल निर्णायक गोल पनि बन्यो । उता आयोजक न्यू स्टारका लागि ८५औं मिनटमा मनोज राईले दोस्रो गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलमा प्लानिङ ब्वाईजका मिलन राई म्यान अफ द म्याच घोषित भए । उनलाई विशेष अतिथी सशस्त्र प्रहरी निरीक्षक निगम राईले नगद ५ हजार र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत चैत्र १५ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल कालिका स्पोर्टस क्लब, चितवन र आमुक्ता परिवार, पश्चिम बंगाल (भारत) बीच हुने आयोजकले जनाएको छ ।

न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजना तथा बराहक्षेत्र नगरपालिकाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १९ गतेका दिन हुनेछ ।

Post Comments