News दमक गोल्डकपको सेमिफाइनलमा पुलिस
रमेश समदर्शी

दमक । विभागीय टोली नेपाल पुलिस क्लब संघर्षपुर्ण जितका साथ जारी दमक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको अन्तिम क्वाटरफाइनलमा पुलिसले एभनिर एफसी, क्यामरुनलाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिए पछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

टाईब्रेकरमा भने पुलिसले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा पुलिसका अन्जन राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । पुलिसले चैत्र १६ गतेको दोस्रो सेमिफाइनलमा गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देहीसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत चैत्र १५ गते मंगलबारको पहिलो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र मानेभञ्ज्याङ एफसी, भारतबीच हुने आयोजकले जनाएको छ ।

दमक नगरपालिका, नगर खेलकुद समिति तथा नगर फुटबल समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।

Post Comments