News फर्साटिकर (रातो) क्वाटरफाइनलमा
सुरज राना मगर

फर्साटिकर । उपाधिको दावेदार मध्ये एक आयोजक फर्साटिकर युवा क्लब (रातो) जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा फर्साटिकरले साविक विजेता फूलबारी गाईजलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलमा आयोजकका लागि चौथो मिनट मै महेश लामाले पहिलो गोल गरे भने एरोन थापाले १५औं मिनटमा दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

खेलमा फर्साटिकरका गोलरक्षक सन्तोष महत म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १,५५५ रुपैयाँ र ट्रफी हात पारे । प्रतियोगितातर्फ चैत्र १६ गते आराम दिइएको आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिता अन्तरगत चैत्र १७ गतेको पहिलो क्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब र न्यु युथ युनियन, पाल्पा बीच हुनेछ ।

फर्साटिकर युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र चितवनका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल भने यहि चैत्र २६ गतेका दिन हुने पनि क्लबका अध्यक्ष कुँवरले बताए ।

Post Comments