News दमक गोल्डकपको उपाधि नजिक मनाङ
रमेश समदर्शी

दमक । दावेदार मध्ये एक मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी दमक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ एफसी, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

मनाङका लागि पहिलो हाफको २९औं मिनटमा आफिज ओलावालेले गरेको एक मात्र गोल टोलीलाई फाइनलमा पुर्याउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता ओलावाले खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत्र १६ गते बुधबारको दोस्रो सेमिफाइनल खेल साविक विजेता नेपाल पुलिस क्लब र गोर्खा ब्वाईज स्पोर्टस क्लब, रुपन्देही बीच हुने आयोजकले जनाएको छ ।

दमक नगरपालिका, नगर खेलकुद समिति तथा नगर फुटबल समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ११ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र १८ गतेका दिन हुनेछ ।

Post Comments