News '६ गोलको थ्रीलर'मा भैरवको फाइनल यात्रा पक्का
सुरज राना मगर

बुटवल । खेलमा पछि परेको स्थिति उल्टाउँदै रोमाञ्चक जितका साथ भैरव एफसी, नवलपरासी जारी सातों फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पौष २३ गते बुधबार भएको पहिलो सेमिफाइनलमा भैरवले झरना स्पोर्टस् क्लब, कुञ्जलापुरलाई टाइब्रेकरमा ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । खराब प्रकाशका कारण ७० मिनट (३५–३५) खेलाइएको खेलमा निर्धारित समयको खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

पहिलो हाफको ३४औं मिनटमा झरनाका लागि कप्तान विवेक पुनले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफ शुरु भए लगतै ३८औं मिनटमा मोहन थापाले त्यो अग्रता दोब्बर पारे ।

तर खेलमा उत्कृष्ट पूनरागमन गरेको भैरवका लागि ५२औं मिनटमा बिनोद केवटले पहिलो गोल गरे । लगतै ६४औं मिनटमा भैरवका लागि आश गुरुङले हेडद्वारा गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याए । फेरि बिनोद केवटले नै ६६औं मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दै भैरवलाई खेलमा ३–२ को अग्रता दिलाए ।

यद्यपि भैरवले त्यो अग्रता जोगाउन सकेन । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सेठ परियारले इन्जुरी समयको ७२औं मिनटमा नाटकीय रुपमा गोल गर्दै खेललाई ३–३ को रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछि पेनाल्टी शुटआउटमा भने भैरवले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

बुधबारको खेलमा भैरवका गोलरक्षक रोशन थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत पौष २४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक फर्साटिकर युवा क्लब र पाल्पा–११ बीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका –४ रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष २६ गते शनिबारका दिन हुनेछ ।

Post Comments