News सिटिइभिटी प्राविधि कलेज, मेला आयोजक समिति र ग्रामीण विकास युवा समाज खाम्लालुङ विजयी
गोलनेपाल

ऐतिहासिक आठराई मदन मेलामा आयोजित मदन मेमोरियल फुटबल प्रतियोगितामा शुक्रबार भएको खेलमा सिटिइभिटी प्राविधि कलेज, मेला आयोजक समिति र ग्रामीण विकास युवा समाज खाम्लालुङ विजयी भएका छन् ।

पहिलो खेलमा प्राविधिक कलेजले आठराई १ लिसिबुङलाई २-१ गोलले पराजित गर्यो । विजेता टोली प्राविधिक कलेजका लागि हरि लिम्बू र गोमल लिम्बुले गोल गरेका थिए भने लिसिबुङका लागि कप्तान सागर तामाङले सान्त्वना गोल गरे ।

दोस्रो खेलमा मेला आयोजक समितिले श्रीजङ राय पापो समाज ह्वाकुलाई २-१ गोलअन्तरमा पराजित गर्यो । आयोजकका लागि टासी लामाले एक्लैले २ गोल गरे भने ह्वाकुका लागि मित्र इङनामको नाममा एक गोल रह्यो ।

यस्तै, पुरुषतर्फको अन्तिम खेलमा खाम्लालुङ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । खाम्लालुङले मौला डाँडा स्पोर्टिङ क्लब ह्वाकुलाई २-० गोलले पराजित गरेको हो । जसमा सन्देश लिम्बू र युवराज लावुङले गोल गरेका थिए ।

१८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद १ लाख ३५ हजार पाउनेछ भने उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ । फाइनल खेल चैत २३ गते हुनेछ ।

महिलातर्फ आयोजक विजयी


यसैगरी, आजदेखि नै सुरु भएको महिलातर्फको फुटबल प्रतियोगितामा आयोजक समितिको महिला टोलीले विजयी सुरुवात गरेको छ ।

त्रिमोहन माविको खेलमैदानमा आयोजित प्रतियोगितामा आयोजक टिमले लाङघाली क्लब इवा ४ आठराईलाई २-० गोलले पराजित गरेको हो । आयोजकका लागि कप्तान सुजा शेर्पा र मनिता लिम्बूले गोल गरिन् ।

प्रतियोगितामा महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ६५ हजार पाउनेछ भने उपविजेताले नगद ४० हजार पाउने आयोजकले जनाएको छ ।

Post Comments
Advertisement Yamaha Nepal