News १५ औं बिटी कप: याम्दीमाथी हाम्रो एफसीको सहज जित
उमेश पुन

पोखरा । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५औं संस्करणको बिटी कप पाँचौ बिरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा आज (शनिबार) ९ खेल सम्पन्न भएका छन् । बुद्धटोल युवा क्बलको आयोजनामा जारी प्रतियोगितामा आज भएको पहिलो खेलमा हेम्जा युवा क्लबलाई हेम्जा युनाईटेडले ४–१ गोल अन्तरले पराजिगत गर्याे ।

युनाईटेडको जितमा मनिस थापाले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे भने सुमन सुनारले एक गोलको योगदान दिए । बिटी क्लबका अध्यक्ष विजया गुरुङका अनुसार आयोजक सेतो र हिमालयन मेलवर्न बिच भएको दोस्रो खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि टाईबेकरमा २–१ गोल अन्तरले आयोजक सेतो विजयी बन्यो ।

त्यसैगरी तेस्रो खेलमा ताङ्बे एफसीलाई पाटन एफसीले २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्याे पाटको जितमा दिपु गुरुङ र सफल आचार्यले समान १ गोलको योगदान दिए भने ताङ्बे एफसीको तर्फबाट दुर्गा थापाले सान्त्वना एक गोल फर्काए ।

चौथो खेलमा सराङ्कोट सेवा समितिलाई सिम्पानी एफसीले ४–० को फराकिलो गोल अन्तरले सहज जित निकाल्यो । सिम्पानीको जितमा सगुन शर्माले ( प्रतियोगिताको दोस्रो ह्याट्रिक) ४ गोल गरे । पाँचौ खेलमा कमल पोखरी एफसीलाई मसिना एफसीले ३–० गोल अन्तरले सहजै पराजित गर्याे । मसिनाको जितमा दिपेश श्रेष्ठ, सिद्धान्त गुरुङ र प्रताप गुरुङले समान १/१ गोल गरे ।

छैटौं खेलमा राम एफसीको अनुपस्थितिमा तारा एफसी वाक ओभर मार्फत विजयी बन्यो । सातौ खेलमा लाँलीगुँरास क्लब धम्पुसले सार्दीखोला एफसीलाई २–१ गोल अन्तरले हरायो । धम्पुसको जितमा नितस गुरुङ र दिपेश क्षेत्रीले समान १/१ गोल गरे भने सार्दीखोलाको तर्फबाट विरेन्द्र भुजेलले सान्त्वना एक गोल फर्काए ।

आठौं खेलमा हाम्रो एफसीले याम्दी एफसीलाई ४–१ गोल अन्तरले सहज जित निकाल्यो । हाम्रो एफसीको जितमा तुनतुन गुरुङले प्रतियोगिताकै तेस्रो ह्याट्रिक गरे भने सहिल गुरुङले एक गोलको योगदान दिए । याम्दीको लागि शिव पुनले सान्त्वना एक गोल फर्काए ।

शनिबार सम्पन्न अन्तिम खेलमा आयोजक हरियोलाई रफ गाईजले १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । रफ गाईजको जितमा प्रिसन गुरुङले निर्णायक गोल गरेका थिए । आईतबार समेत पहिलो चरणकै ९ खेल सञ्चालन हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ रुपैया प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । भने सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ ।

यसैगरी उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई समान ५/५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने छ भने अनुशासित टिमलाई ८ हजार र ट्रफि प्रदान गरिने छ आयोजकले जनाएको छ ।

Post Comments