News मनाङलाई दमक गोल्डकपको उपाधि
रमेश समदर्शी

दमक । शुरुवातबाटै दावेदारका रुपमा हेरिएको मनाङ मस्र्याङ्दी क्लबले दमक गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा साविक विजेता नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको खेलमा मनाङका लागि ५९औं मिनटमा आफिज ओलावालेले पहिलो गोल गरे भने ६७औं मिनटमा शिशिर लेखीले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे । खेलमा मनाङका मौसा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

विजेता बनेको मनाङले उपाधिसहित नगद १३ लाख ११ हजार हात पार्यो भने उपविजेता पुलिसले ६ लाख ११ हजारमा चित्त बुझायो । मनाङका पुजन उपरकोटी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापत उनले एक थान मोटरसाईकल हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक मनाङका बिशाल सुनार चुनिदा उत्कृष्ट डिफेन्डर पुलिसका अन्जन राई घोषित भए । उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी बन्दा उत्कृष्ट फरवार्ड भने पुलिसका निर कुमार राई घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार मनाङ कै आफिज ओलावालेले हात पार्दा उत्कृष्ट प्रशिक्षक पनि मनाङ कै राजेन्द्र तामाङ घोषित भए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २१–२१ हजार र ट्रफी हात पारे । दमक नगरपालिका, नगर खेलकुद समिति र नगर फुटबल समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments