News केबिए ग्लोबल भरतपुर फाइनलमा
सुरज राना मगर

फर्साटिकर । केबिए ग्लोबल भरतपुर फुटबल क्लब, चितवन यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो सेमिफाइनलमा भरतपुरले कपिलवस्तु–११ लाई टाईब्रेकरमा ५–३ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि फर्साटिकर उच्च माविको खेलमैदानमा सम्पन्न निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको २७औं मिनटमा फोफोनाको गोलबाट शुरुवाती अग्रता बनाएको भरतपुरले त्यसलाई पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफतर्फ ५६औं मिनटमा सन्दिप थारुले कपिलवस्तुका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा भरतपुरका अफ्रिकी खेलाडी जाजा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत चैत्र २३ गते बुधबारको दोस्रो सेमिफाइनल खेल कालिका स्पोर्टस एकेडेमी, चितवन र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने आयोजकले जनाएको छ ।

फर्साटिकर युवा क्लब, शुद्धोधन गाउँपालिका ४ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २६ गतेका दिन हुनेछ ।

Post Comments