News बर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक
गोलनेपाल

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ का थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । यसअघि बर्ष महिला र पुरुष विधाको मनोनयन सार्वजनिक भएकोमा बर्ष प्रशिक्षक र बर्ष युवा खेलाडीको मनोनयन सार्वजनिक भएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजनामा हुने स्पोर्टस अवार्डको तेस्रो संस्करणको बर्ष प्रशिक्षकमा भलिबलका जगदिश भट्ट, फुटबलका ललित चन्द र वक्सिङका डमरदत्त भट्ट मनोनयनमा परेका छन् ।

महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको उपाधि नेपाललाई जितेका थिए । उनले लगातार दोस्रो पटक नेपाली महिला भलिबल टोलीलाई च्याम्पीयन बनाएका हुन् ।

फुटबल प्रशिक्षक ललित चन्दले नेपालगंजमा भएको प्रसिडेन्ट कपमा कैलालीको स्टार सिटी युवा क्लबलाई च्याम्पीयन बनाएका थिए । उनी सोही प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक समेत बनेका थिए । पहिलो पटक आयोजित नेपाल सुपर लिगमा धनगढी फुटबल उपविजेता बन्दा उनी सहायक प्रशिक्षक रहेका थिए । उनले नेपाली अण्डर–२३ फुटबल टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।

ओलम्पीयन समेत रहेका वक्सिङका डम्बरदत्त भट्ट दुवइमा भएको एसियन युथ एण्ड जुनियर च्याम्पियनसीपमा नेपाली खेलाडीलाई पदक जिताउने मध्येका प्रशिक्षक हुन् । उनले प्रशिक्षण दिएकी स्वस्तिका तिरुवाले पहिलो पटक सो प्रतियोगितामा कास्य पदक जितेकी थिईन् । एसियन युथ एण्ड जुनियर च्याम्पियनसीपमा नेपाली टोलीले पहिलो पटक पदक जितेको छ ।

बर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका लोकेश बम फुटबलकी चन्द्रा भण्डारी र भलिबलका विशाल भण्डारी परेका छन् । क्रिकेटका लोकेश बलमे कलिलो उमेरमै युएइ विरुद्धको नेपाली टोलीबाट डेब्यु गरेका छन् । उनले डेब्यु खेलमा २१ बलमा ३३ रनको आक्रमक पारी खेलेका थिए ।

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी अण्डर–१९ नेपाली टोलीमा नपरेपनि आईसीसी टी–२० विश्वकपको छनोट खेलमा पनि प्लेइङमा परेका खेलाडी हुन । प्रधानमन्त्री कपमा ६ खेलमा १५२ रन बनाउदै आफ्नो क्लबलाई उपाधि जिताएका थिए भने आक्रमक रुपमा अर्धशतकीय पारी समेत लेखेका थिए ।

फुटबलकी चन्द्रा भण्डारीले महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढीलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । फाइनलमा दुई सहित ५ खेलमा १२ गोल गर्दै महिला लिग छनोट प्रतियोगिताको उत्कृष्ट फरवार्ड बनेकी थिईन् ।

उन्नाईस वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाली महिला फुटबल टोलीको सदस्यको रुपमा भुटान समेत गएकी थिईन् । हाल सञ्चालन भईरहेको राष्ट्रिय महिला लिगमा वालिङ विरुद्ध ह्याट्रिक सहित चार गोल र चन्द्रपुर नगरपालिका विरुद्ध एक गोल गर्दै प्लेयर अफ द म्याच भएकी थिईन् ।

भबिलका विशाल भण्डारी कलिलो उमेरमै खेलको छाप छोड्न सफल भएका छन् । १७ वर्षको उमेरमै क्षेत्रीय प्रतियोगितामा डेब्यु गर्दै उत्कृष्ट लिवरोको उपाधि समेत उनले जितिसकेका छन् । १८ वर्षको उमेरमा राष्ट्रिय पतियोगितामा डेब्यु गर्दै सुदूरपश्चिमका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मध्येमा विशाल पर्छन ।

यसअघि सार्वजनिक बर्ष पुरुष खेलाडीमा क्रिकेटका दिपेन्द्र सिंह ऐरी फुटबलका टिकेन्द्र थापा र ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेको सार्वजनिक भईसकेको छ । त्यस्तै महिला बर्ष खेलाडी तर्फ भलिबलकी सरस्वती चौधरी, फुटबलकी उषा नाथ र एथलेटिक्सकी राजपुरा पछाई मनोनयनमा परेकी छिन् ।

चार विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अब बाँकी दुई विधाको मनोनयन सार्वजनिक हुने जनाएको छ । सुदुरपश्चिम आईकन महिला र पुरुष विधाको मनोनयन केही दिनमा सार्वजनिक हुने मञ्चका महासचिव तथा कार्यक्रम संयोजक प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार दुई विधा लाईफटाईम एचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा भने कार्यक्रम आयोजना भएकी स्थानमा घोषणा गरिनेछ ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ ।

बर्ष युवा खेलाडीलाई निर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । यस्तै अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Post Comments