News आयोजक माछापुच्छ्रे फाइनलमा
सुरज राना मगर

भैरहवा । आयोजक माछापुच्छ्रे फुटबल क्लब, भैरहवा जारी २८औं माछापुच्छ्रे कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा माछापुच्छ्रेले सनराईज एफसी, नवलपरासीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

आयोजकको जितमा दुवै गोल मिशन दर्लामीले गरे । उता पराजित सनराईजका लागि नविन महतोले एक मात्र गोल गरेका थिए । खेलमा आयोजकका लागि दुई गोल गरेका मिशन दर्लामी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २३ गतेको दोस्रो सेमिफाइनल खेल सिद्धार्थ फुटबल क्लब, चपरहट्टी र लुम्बिनी खुकुरी एफसी, बेलहिया बीच हुने आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे एफसी, भैरहवाको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २५ गतेका दिन हुनेछ ।

Post Comments