News शानदार जितका साथ कालिका स्पोर्टस फाइनलमा
सुरज राना मगर

फर्साटिकर । प्रभावशाली जित हात पार्दै कालिका स्पोर्टस एकेडेमी, चितवन यहाँ जारी शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो क्वाटरफाइनलमा कालिका स्पोर्टसले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई ५–२ ले हराउँदै उपाधि नजिक पुगेको हो । दुई पटकको अग्रता जोगाउन नसकेको झरनाले अन्ततः हारको सामना गर्नुपर्यो ।

खेलको चौथो मिनट मै यानिकको गोलबाट झरनाले खेलमा अग्रता बनाएको थियो । तर लगतै रुमेश बर्तौलाले कालिका स्पोर्टसका लागि बराबरी गोल फर्काए । यद्यपि २७औं मिनटमा रोहित सुनारले झरनालाई फेरि खेलमा अग्रता दिलाए । तर ४१औं मिनटमा कालिका स्पोर्टसका लागि सुरेश कुमालले गोल गर्दै खेललाई रोमाञ्चक २–२ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने कालिका स्पोर्टसले थप तीन गोल थप्न सफल भयो । ५६औं मिनटमा रुप बहादुर लामाले कालिका स्पोर्टसका लागि तेस्रो गोल गरे । ८१औं मिनटमा यामिले चौथो गोल थपे भने इन्जुरी समयमा यामीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै कालिका स्पोर्टसको शानदार जित सुनिश्चित गरे ।

खेलमा कालिका स्पोर्टसका सुरेश कुमाल म्यान अफ द म्याच घोषित भए । अब कालिका स्पोर्टसले फाइनलमा अर्को घरेलु टोली केबिए ग्लोबल भरतपुर एफसीसँग चैत्र २६ गते शनिबारका दिन फाइनल खेल्ने आयोजकले जनाएको छ ।

फर्साटिकर युवा क्लब, शुद्धोधन गाउँपालिका ४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख २५,५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।

 

Post Comments