
इटहरी । शुरुवातबाटै उपाधिको दावेदार मध्ये एकका रुपमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी कन्ट्रोल १२औं अन्तर्राष्ट्रिय इटहरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा रोलिङ क्लब, झापाको चुनौति २–१ ले पन्छाउँदै आर्मी फाइनलमा प्रवेश गरेको हो । इटहरी रंगशालामा सम्पन्न खेलमा भएका तीन गोलहरु दोस्रो हाफमा सम्भव भए ।
५१औं मिनटमा टेक बहादुर बुढाथोकीले आर्मीका लागि पहिलो गोल गरे । आर्मीका लागि दोस्रो गोल भने ९०औं मिनटमा सन्तोष तामाङले गरे । उता पराजित रोलिङका लागि मार्टिनले इन्जुरी समयमा गोल गरे तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खेलमा आर्मीका टेक बहादुर बुढाथोकी म्यान अफ द म्याच घोषित भए । उनलाई प्रदेश नम्बर १ का खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले नगद १० हजार र ट्रफीका साथ पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत चैत्र २४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब, काठमाडौं र सगरमाथा युथ क्लब, मोरङबीच हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत्र २६ गतेका दिन हुनेछ ।