News बिटी कपमा दोस्रो चरणका खेलहरु सम्पन्न
उमेश पुन

पोखरा । बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा बुधबार दोस्रो चरणका खेलहरु सकिएका छन् । पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा आज दोस्रो चरणका खेलहरु सकिएसँगै बुधबारदेखि प्रिकवटरफलाईनलको खेल हुने क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिईन् ।

गुरुङका अनुसार बुधबार भएको पहिलो खेलमा मालेपाटन एफसीले पाटन एफसीलाई २–० गोल अन्तरले पराजिगत गर्यो। मालेपाटनको जितमा सोम तामाङ र मिलन मगरले समान १ गोल गरे । त्यसैगरी दोस्रो खेलमा मेरो नेपालले एनजी एफसीलाई ३–० गोलको फराकिलो अन्तरले हरायो । मेरो नेपालको जितमा रामचन्द्र नेपालीले २ गोलको योगदान दिए भने सम्पन्न श्रेष्ठले १ गोल गरे ।

अध्यक्ष गुरुङले शितलज्योती क्लब र नदीपुर युनाईटेड बिच भएको खेल गोलरहित भएपछि टाईब्रेकरमा शितलज्योतीले ३–१ गोल अन्तरले जित निकाल्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको बताईन् । उनका अनुसार हाम्रो एफसी र भिमकाली एफसी बिच भएको चौंथो खेलमा गोलरहित भएपछि टाई ब्रेकरमा हाम्रो एफसीले ४–३ गोल अन्तरले पराजित गर्यो ।

पाँचौ खेलमा सत्य युवा क्लब बाझाँपाटनले कमलपोखरीलाई टाई ब्रेकरमा ३–१ गोल अन्तरले हराउदै अन्तिम १६ मा स्थान बनायो । छैटौं खेलमा रफ व्याईज र हेम्जा युनाईटेड बिच भएको खेलपनि गोलरहित भएपछि टाईब्रेकरमा ७–६ गोल अन्तरले हेम्जा युनाईटेडले जित निकाल्यो । सातौं खेलमा भिमकाली यु–१७ ले रामघाट एफसीलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गर्यो।

अन्तिम खेलमा लालीगुँरास क्लब धम्पुसलाई लेकसाइड एफसीले ४–० गोलको फराकिलो अन्तरले पराजिगत गर्यो । लेकसाइडको जितमा सन्त बहादुर गुरुङले हयाट्रिक गरे भने विमल रानाले १ गोलको योगदान दिए । आयोजकका अनुसार बिहिबारदेखि प्रिक्वाटरका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिता विजेता टोलीले १ लाख ५१ हजार १ सय ५१ र उपविजेता टोलीले ९१ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ ।

Post Comments