News सगरमाथालाई इटहरी गोल्डकपको उपाधि
गोलनेपाल

इटहरी । प्रतिस्पर्धात्मक खेलमा जित हात पार्दै सगरमाथा युथ क्लब, मोरङले शनिबार सम्पन्न कन्ट्रोल १२औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि जितेको छ ।

इटहरी रंगशालामा सम्पन्न खेलमा सगरमाथाले त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

विजेता बनेको सगरमाथाले उपाधिसहित नगद ७ लाख हात पार्यो भने उपविजेता आर्मीले ३ लाख ५० हजारमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच आर्मीका विवश चौधरी चुनिए । उनले ट्रफीसहित नगद १० हजार हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक सगरमाथाका प्रिसो चुनिए भने उत्कृष्ट डिफेन्डर आर्मीका बिकास खवास बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर पनि आर्मी कै सन्तोष तामाङ बन्दा उत्कृष्ट फरवार्ड सगरमाथाका आशिष लामा घोषित भए । उत्कृष्ट प्रशिक्षक पनि सगरमाथा कै युबेन गुरुङ बने । उत्कृष्ट सबैले जनही १५–१५ हजार र ट्रफी हात पारे ।

त्यस्तै उदीयमान खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका मनिष भण्डारी घोषित भए । उनले ४० इन्चको एक थान टेलिभिजन हात पारे । त्यस्तै प्रतियोगिताभरि ३–३ गोल गरेका सगरमाथाका आवास लामिछाने र मनाङ मस्र्याङ्दी क्लबका आफिज ओलावालेले १०–१० हजार नगद हात पारे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेत चुनिए । उनले पुरस्कार वापत एक थान स्कुटर हात पारे । विजयी खेलाडीहरुलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई लगायतका अतिथीहरुले पुरस्कृत गरे ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा चैत्र १९ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments