News केबिए ग्लोबल भरतपुर एफसीलाई उपाधि
सुरज राना मगर

फर्साटिकर । रुपन्देहीमा सम्पन्न शुद्धोधन गाउँपालिका नवौं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि केबिए ग्लोबल भरतपुर फुटबल क्लब, चितवनले जितेको छ ।

फाइनलमा शहरी प्रतिद्वन्द्वी कालिका स्पोर्टस एकेडेमी, चितवनलाई २–० ले हराउँदै भरतपुर च्याम्पियन बनेको हो । स्मरण रहोस, भरतपुर प्रतियोगिताको गत संस्करणको उपविजेता समेत हो ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको खेलमा भरतपुरले दुवै गोल दोस्रो हाफमा गर्यो । दोस्रो हाफ शुरु भएको तेस्रो मिनट मै अर्मान्डले भरतपुरका लागि पहिलो गोल गरे भने ५४औं मिनटमा यदु सिलवालले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

विजेता बनेको भरतपुरले उपाधिसहित नगद २ लाख ५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता कालिका स्पोर्टसले १ लाख २५,५५५ रुपैयाँमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच भरतपुरका जाजा घोषित भए । उनले ट्रफीसहित नगद १५५५ रुपैयाँ हात पारे ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक भरतपुरका मनोज गुरुङ चुनिंदा उत्कृष्ट डिफेनडर पनि भरतपुर कै मनोज श्रेष्ठ घोषित भए । उत्कृष्ट प्रशिक्षक पनि भरतपुर कै ध्रुव भुषाल घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार कालिका स्पोर्टसका सुरेश कुमालले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५,५५५ रुपैयाँसहित ट्रफी हात पारे ।

प्रतियोगिताको फेयर प्ले पुरस्कार भने आयोजक फर्साटिकर युवा क्लब (निलो) ले प्राप्त गर्यो । त्यसैगरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी कालिका स्पोर्टसका राजेन्द्र रावल घोषित भए । उनले पुरस्कारवापत नगद १०,५५५ रुपयाँसहित ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई लुम्बिनी प्रदेश सभासद पुष्पा थरुनी, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार), आयोजक फर्साटिकर युवा क्लबका संरक्षक चक्र बहादुर कुँवर तथा प्रतियोगिता संयोजक आशिष केसी लगायतले पुरस्कृत गरेका थिए ।

फर्साटिकर युवा क्लब, शुद्धोधन गाउँपालिका–४, फर्साटिकरको आयोजनामा चैत्र १२ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवनका गरी कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments