News पथरी ११ र मिलेनियम उपाधिका लागि भिड्ने तय
रमेश समदर्शी

इलाम । फिक्कलको मिलेनियम फ्रेण्डस क्लब र मोरङको पथरी ११ एफसी फाकफोकथुम ४ स्थित फुएतप्पामा जारी दोस्रो त्रिवेणी आमन्त्रित गोल्डकपको फाइनलमा भिड्ने भएका छन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा पथरी ११ ले झापाको सताक्षीधाम स्पोर्टिङ क्लबलाई पराजित गरेसँगै फिक्कलसँग भेट पक्का भएको हो । 

स्थानीय विष्णु माविको खेलमैदानमा भएको खेलमा पथरीले २-० गोलअन्तरमा झापालाई पराजित गर्यो । जितसँगै पथरीले कम्तिमा १ लाख रुपैयाँ सुरक्षित गरेको छ । झापामाथि पथरीले एकोहोरो दबाब सिर्जना गरेको थियो । 

खेलको पहिलो हाफमै २ गोल सम्भव भएको हो । पथरीले सिर्जना गरेको थुप्रै अवसर गोलमा परिणत हुन भने सकेन । झापाका सीमित खेलाडीले मात्र केही मुभ बनाए पनि पथरीका रक्षकले विफल तुल्याइदिएका थिए ।

पथरीका उमेश कार्कीले पहिलो गोल गरेका थिए । खेलको २१औँ मिनेटमा फ्रिकिकमार्फत उमेशले उत्कृष्ट गोल गरेका हुन् । यस्तै, पथरीका सुवास तामाङ पहिलो हाफकै ३२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । 

खेलको म्यान अफ दी म्याच पहिलो गोलकर्ता उमेश कार्की घोषित भए । उनले नगद २ हजार पाए । बिहीबार नयाँ वर्ष २०७९ को पहिलो दिन फिक्कल र पथरीले फाइनल खेल्दै सुखद् सुरुवात गर्नेछन् । त्रिवेणी युवा विकास संस्था फुएतप्पाले आयोजना गरेको गोल्डकपको विजेताले २ लाख पाउनेछ ।

Post Comments