News राष्ट्रिय नाईन ए साईड भेट्रान कप शुरु
उमेश पुन

पोखरा । युवा तथा खेलकुद मन्त्रलाय गण्डकी प्रदेशको आयोजनामा राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिता शुक्रबार देखी पोखरा रंगशालामा शुरू भएको छ । शुक्रबार ४ खेल सम्पन्न भएको छ ।

विहान भएको खेलमा पोखराको बगर भाइखलकले वालिङ भेट्रान टिमलाई ५–१ को फराकिलो गोलले पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै मोती कुँवरको गोलबाट वालिङ भेट्रानले अग्रता लिएको थियो । बगरभाइ खलकले बराबरी गोल फर्काउन सफल भयो । पहिलो हाफ बराबरीमा भएको खेलमा २८ औं मिनेटमा प्रकाश गुरुङ, ३० मिनेटमा टिकेन्द्र गुरुङ, ३२ मिनेटमा गंगा तामाङ(प्लेयर अफ दि म्याच) र ४६ औं मिनेटमा दिपक पुनले गोल गरेका थिए ।

पोखरा रंगशाला फुटबल मैदानमा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लेकसाईड भेट्रानले पोखरा भेट्रानलाई १–० ले पराजित गर्यो । लेकसाईडको जितमा १६ औं मिनेटमा नरेश गुरुङले गोल गरेका थिए । खेलमा मनबहादुर गुरुङ प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको कप्तानीमा खेलेको मनाङ मस्यार्ङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गरेको थियो । मनाङका कर्मा छिरिङ गुरुङले ह्याट्रिक गरे ।

२ र ६ मिनेटमा बीरबहादुर गुरुङले गोल गरेर दिप युनाईटेडको अगाडि बढाए पनि खेलको १३ औं मिनेटमा मनाङका लागि कर्मा छिरिङ गुरुङले गोल फर्काए । खेलको ४० औं मिनेटमा दिप युनाईटेडका लागि दलबहादुर लामाले गोल गरे । ४२ औं मिनेटमा मनाङका कर्मा छिरिङले व्यक्तिगत दोस्रो गोल गरे । ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कर्माले ह्याट्रिक पुरा गरे । ६०औं र ६१ औं मिनेटमा सुमनमान श्रेष्ठले गोल गर्दै मनाङको जित सुनिश्चित बनाए । मनाङका कर्मा प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा सिमरा भेट्रान टिम अनुपस्थित भएपछि पोखराको संगम भेट्रान अन्तिम आठमा प्रवेश गर्यो । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सञ्चालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए । प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।

पोखरा, काठमाडौं, हेटौडा, वालिङ लगायतका शहरबाट भेट्रान टोलीको प्रतिस्पर्धा रहेको छ । प्रतियोगिता विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार, दुई सेमिफाईनलिष्ट टोलीले नगद ३० हजार, सर्वोत्कृष्ठ खेलाडीले नगद २० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीहरुले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङका अनुसार शनिबार ६ खेल खेलाईने छ ।

Post Comments