News वन विज्ञान संकायलाई उपाधि
गोलनेपाल

भरतपुर । ‘प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८’ को उपाधि वन विज्ञान संकायले जितेको छ । बुधबार भएको फाईनल खेलमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रिबासलाई १–० को गोल अन्तरले हराउँदै वन संकाय उपाधि जित्न सफल भएको छ ।

खेल सुरु भएको तीन मिनेटमै वन संकायका प्रज्वल महतले गोल गरेका थिए । खेलमा म्यान अफ दि म्याच भएका प्रज्वलले गरेको गोल नै उपाधिका निर्णायक गोल बन्यो । खेल अवधी भर संकायले खेललाई दबाबमा राख्न सफल भएको थियो ।

उपाधि जितेको वन संकायले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । दोस्रो भएको पाख्रिबास कलेजले २५ हजार रुपैयाँ र मेडल पुरस्कार पाएका छन् । प्रतियोगितामा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारीले तेस्रो र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, टिकापुरले चौथो स्थान हासिल गरेका छन् । तृतीय टिमले १५ हजार र चौथो हुने टिमले १० हजार रुपैयाँ पुरस्कार पाए ।

विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा आयोजना गरेको प्रतियोगिता अवधि भरमा ४ गोल गरेका टिकापुर कलेजका सिजन शर्मा सर्वाधिक गोल कर्ता भए ।

पाख्रिबास कलेजका राजकुमार तामाङ म्यान अफ द टुर्नामेन्ट भए । सर्वाधिक गोलकर्ता र म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । आयोजक समितिका संयोजक कृष्ण प्रसाद थपलियाका अनुसार प्रतियोगितामा विश्वविद्यालयको तीन संकाय, आंगिक कलेज, नीजि कलेजका गरी १६ वटा टिम सहभागी भएका थिए ।

Post Comments