News फर्साटिकर कपको उपाधि आयोजक कै कब्जामा
गोलनेपाल

बुटवल । रुपन्देहीमा सम्पन्न सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक फर्साटिकर युवा क्लबले नै जित्न सफल भएको छ ।

पौष २६ गते शनिबारका दिन भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा फर्साटिकरले भैरव एफसी, नवलपरासीलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।

फर्साटिकर उच्च माविको खेलमैदानमा भएको फाइनल भिडन्तमा फर्साटिकरले शुरुवाती तीन गोलको अग्रता लिएर पनि अन्तिमसम्म जितका साथ चनाखो भएर खेल्नु पर्यो ।

फर्साटिकरका लागि २१औं मिनटमा अफ्रिकी खेलाडी एलेक्सले पहिलो गोल गर्दा २८औं मिनटमा जोनाह ग्लोरीले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफ कै इन्जुरी समयमा कप्तान सुजन रानाले गोल गर्दै आयोजकको अग्रता तेब्बर पारे ।

तर, भैरव दोस्रो हाफमा भने खेलमा फर्कियो । दोस्रो हाफ शुरु भएको तेस्रो मिनटमै भैरवका लागि राम बहादुर थापाले पहिलो गोल गरे भने ५४औं मिनटमा बिनोद केवटले दोस्रो गोल गरे । त्यसपछि खेलको अन्तिम समयसम्म फर्साटिकरले साँघुरो अग्रतालाई जोगाइ राख्न संघर्ष गर्नुपर्यो भने भैरवले अन्तिममा हारलाई आत्मसात गर्न बाध्य भयो ।

यस वर्ष फापेको फर्साटिकरले लिस्नु कप, चाँदनी कप, एनवाइसी कप जस्ता प्रतियोगिताहरुको उपाधि पनि जितिसकेको छ भने यस बर्ष हालसम्म कुल सात फाइनल समेत खेलिसकेको छ ।

विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता भैरवले १ लाखमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ भने भैरवको दबदबा रह्यो । फाइनल खेलको म्यान अफ द म्याच भैरवका कप्तान सौगात गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार प्राप्त गरे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता पनि भैरव कै क्रमश रोशन थापा र बिनोद केवट घोषित भए । थापा र केवटले जनही ५–५ हजार हात पारे । त्यसैगरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने आयोजक फर्साटिकरका सुजन राना घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको उदयीमान खेलाडी फर्साटिकर कै आशिष जिसी चुनिए । उनले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । सेमिफाइनलमा पराजित भएका दुई टोली झरना स्पोर्टस क्लब र पाल्पा–११ जनही १६–१६ हजार प्राप्त गरे ।

फाइनल खेलको समापनमा प्रतियोगितालाई सफलताका साथ सुसम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई आयोजक क्लबका अध्यक्ष मुकेश कुँवर तथा खेल संयोजक भेषराज पौडेलले धन्यवाद समेत दिए । फर्साटिकर युवा क्लब, शुद्धोदन – ४, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा रुपन्देही, चितवन, पाल्पा र नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments