News राष्ट्रिय टोलीमा विवाद, खेलाडीहरु प्रशिक्षण छाडेर निस्किए
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको राष्ट्रिय पुरुष फुटबल टोलीमा विवाद चर्किएको छ । हाल बन्द प्रशिक्षणमा रहेका कुल २५ मध्ये केही महत्वपूर्ण खेलाडीहरुले प्रशिक्षण छाडेर बाहिरिएको खबर विभिन्न सञ्चारमाध्यमहरुले पनि जनाएका छन् ।

अनलाईनखबरका अनुसार बन्द प्रशिक्षणमा रहेका ९ खेलाडीहरुले प्रशिक्षण छाडेको जनाएको छ । मंगलबार ९ खेलाडीहरुले आफु बस्ने होटल छाडेको अनलाईनखबरले समाचार प्रकाशित गरेको छ । यसबारे व्यवस्थापन पक्षले एन्फालाई पनि जानकारी गराईसकेको बताइएको छ ।

त्यस्तै ग्यालेक्सी फोरकेले मुख्य प्रशिक्षण अब्दुला अल्मुतारी र खेलाडीहरुबीच विवाद उब्जिएको जनाएको छ । ग्यालेक्सीका अनुसार राष्ट्रिय टोलीबाट रोहित चन्दलाई निकाल्ने निर्णयपछि अन्य खेलाडीहरु रुष्ट बनेको बताइएको छ ।

स्मरण रहोस, हाल बन्द प्रशिक्षणमा रहेको नेपाली टोली छिटै थप प्रशिक्षण र अभ्यासका लागि कतार जाने कार्यक्रम छ । साथै कतारमा नेपालले अफगानिस्तानसँग २३ र २४ मईका दिन दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसँगै इण्डोनेसिया र जोर्डनसँग जुन महिनामा छनौट प्रतियोगिता खेल्ने पनि तय भईसकेको छ ।

 

Post Comments