News क्याम्प छाडेका खेलाडीहरुको समर्थनमा कप्तान किरन
गोलनेपाल

काठमाडौं । एसियन कप छनौट खेल्न बन्द प्रशिक्षणमा रहेका मुख्य सिनियर खेलाडीहरुले असन्तुष्टी पोख्दै क्लोज क्याम्प छाडेपछि अहिले नेपाली फुटबलमा फेरि तरंग पैदा गरेको छ ।

मंगलबार अबेर राती रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन बिष्ट, बिमल घर्ती मगर, सुमन लामा, बिशाल श्रेष्ठ केही सिनियर खेलाडीहरुसहित ९ खेलाडीहरुले होटल छाडेपछि क्लोज क्याम्पमा विवाद चर्किएको कुरा बाहिरिएको थियो ।

अहिले आएर तीनै खेलाडीहरुको समर्थनमा नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङ पनि उभिएका छन् । किरनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो कुराको पुष्टी गरेका हुन् ।

किरनले फेसबुकमा स्टाटस लेखेका छन्, "राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु । जय नेपाल ।"

स्मरण रहोस, बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीहरु टिम व्यवस्थापन र प्रशिक्षकसँग असन्तुष्ट रहेको बताइएको छ । नेपाली टोली छिटै थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने कार्यक्रम पनि छ । साथै नेपालले कतारमा २३ र २४ मईका दिन अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसँगै, जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ । जुन खेलहरु आउँदो जुन महिनामा हुने पनि तय भईसकेको छ ।

Post Comments