News अब्दुलालाई हटाउनु पर्ने खेलाडीहरुको माग
गोलनेपाल

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण छाडेका सिनियर खेलाडीहरुले मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीलाई हटाए मात्र टोलीमा फर्किने अडान राखेका छन् । खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग कुराकानीका क्रममा सो माग राखेका हुन् ।

स्मरण रहोस, एएफसी एसियन कप छनौटका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमध्ये केही मुख्य सिनियर खेलाडीहरुसहित १० जनाले मंगलबार राती बिना कुनै जानकारी टिम होटल छाडेका थिए ।

बन्द प्रशिक्षणमा रहेका सिनियर खेलाडीहरुले प्रशिक्षक अल्मुतारीसँग खेलाडीहरुले प्रशिक्षणका क्रममा पाउनुपर्ने सेवा सुविधाबारे कुरा राख्दा प्रशिक्षक अल्मुतारीले त्यसलाई खासै बेवास्ता नगरेको खेलाडीहरुको भनाई छ । सोही मागलाई फेरि रोहित चन्दले प्रशिक्षकसमक्ष राख्दा अल्मुतारीले रोहितलाई टिमबाट निष्काशन गरेका थिए ।

त्यसपछि अन्य खेलाडीहरुले रोहितको बारेमा कुरा राख्न खोज्दा प्रशिक्षक अल्मुतारीले ती खेलाडीहरुलाई पनि बन्द प्रशिक्षण छाड्न आदेश दिएका थिए । प्रशिक्षकसँग यो विवादबारे कुनै समाधान ननिस्किने देखेपछि रोहित सहित बिमल घर्ती, तेज तामाङ, सुमन लामा, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ, अन्जन बिष्ट लगायतका खेलाडीहरुले मंगलबार राती आफू बस्ने होटल छाडेका थिए ।

त्यसपश्चात एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्बन्धित खेलाडीहरुसँग भेटेर आवश्यक छलफल पनि गरेका थिए । यद्यपि बन्द प्रशिक्षण छाडेका खेलाडीहरुले प्रशिक्षक अल्मुतारीको बर्खास्ती नै आफूहरुको माग रहेको अडान लिएका छन् ।

स्मरण रहोस, बन्द प्रशिक्षणमा रहेको नेपाली फुटबल टोली थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने तयारीमा छ । साथै कतारमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ । जुन खेल मई २३ र २४ तारीखका दिन हुने बताइएको छ ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए रहेको नेपालले आयोजक कुवेत, जोर्डनसँगै इण्डोनेसियासँग खेल्ने तय भईसकेको छ । जुन खेलहरु आगामी जुन महिनाको शुरुवातदेखि शुरु हुने कार्यक्रम छ ।

Post Comments