News खेलाडीहरु कै समर्थनमा बिकेश
गोलनेपाल

काठमाडौं । व्यवस्थापन पक्ष र प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै बन्द प्रशिक्षणबाट निस्किएका सिनियर खेलाडीहरुकै समर्थनमा अर्का फुटबलर बिकेश कुथु पनि उत्रिएका छन् ।

सम्झिनु पर्ने कुरा त, बन्द प्रशिक्षणबाट निस्किएका खेलाडीहरु कै स्थानमा मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले थप १७ नयाँ खेलाडीहरुलाई टिममा सामेल गरेका थिए । जसमा बिकेश कुथु पनि समावेश थिए ।

तर कुथुले राष्ट्रिय टोलीमा यसअघि आफूले भोगेको घट्नाक्रमलाई स्मरण गराउँदै तथा हालको घट्नाक्रमलाई मध्यनजर गर्दै आफू पनि टिममा सहभागि हुन असमर्थ रहेको कुरा उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

कुथुले आफ्नो फेसबुकमा लेखेका छन्, "हाल राष्ट्रिय टोलिमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु । साथै विगतमा म पूर्ण रुपमा फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत नै छ । तसर्थ म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथिहरुको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु । म र हामीभन्दा माथि हाम्रो राष्ट्र"

एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली टोली थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने कार्यक्रम पनि छ । कतारमा नेपालले मई २३ र २४ तारीखका दिन अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पनि तय भईसकेको छ ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए परेको नेपालले कुवेत, जोर्डन र इण्डोनेसियासँग खेल्नेछ । प्रतियोगिताका सबै खेलहरु जुन महिनाको शुरुवातबाट कुवेतमा हुनेछ ।

 

 

Post Comments