News एन्फालाई अल्मुतारीको पत्रः क्याम्प छाडेका खेलाडीहरुलाई कारवाही नगर्नुस
गोलनेपाल

काठमाडौं । एसियन कप छनौटका लागि बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय फुटबल टोलीको हालैको विवादबारे मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेखेका छन् ।

एन्फालाई लेखेको पत्रमा उनले आफूले भारी मन बनाएर यो पत्र लेख्न बाध्य बनेको बताएका छन् । टोलीका केही खेलाडीहरुले आफूमाथि सार्वजनिक रुपमा लगाएको आरोपबारे पनि आफू जानकार रहेको अब्दुलाले लेखेका छन् ।

यद्यपि युवा खेलाडीहरुको युवा जोशसँगै आवेश पनि हुने भएकोले त्यसैको फलस्वरुप अहिलेको घट्ना घटेको उनले बताएका छन् । एउटा अभिभावकका रुपमा आफूले यो अवस्थालाई त्यति गम्भिर रुपमा नलिए पनि त्यसले आफूलाई निकै चोट र पिडा पुगेको बताएका छन् ।

आफूले नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाले यता नेपाली फुटबलले राम्रो प्रगति गरिरहेको बताउँदै अल्मुतारीले नेपाली फुटबलप्रति आफ्नो मनमा विशेष स्थान रहेको पनि स्पष्ट पारे । साथै उनले नेपाली फुटबलको विकासमा लागि आफू सधै तम्तयार भएर लागि पर्ने पनि बताए ।

अल्मुतारले लेखेको पत्रमा उनले क्याम्प छाडेका खेलाडीहरुलाई पनि माफी दिएको र एन्फाले उनीहरुलाई कारवाही नगर्न पनि आग्रह गरेका छन् । त्यति मात्र नभएर राष्ट्रिय फुटबल टोलीका लागि खेलाडी छनौट गर्ने आफूलाई पूर्ण अधिकार रहेको स्मरण गराउँदै क्याम्प छाडेका खेलाडीहरुलाई आफूले टिममा समावेश नगर्ने पनि स्पष्ट पारे ।

साथै एएफसी एसियन कप छनौटतर्फ नेपाली टोलीको प्रदर्शनमा आफू एक्लै जिम्मेवार हुने पनि पत्रमा लेखेका छन् । पत्रमा अन्तिममा उनले आफ्नो यी निर्णयहरुलाई बुझेर आफ्नो काम गर्न एन्फाले सहयोग गर्नेमा पूर्ण विश्वस्त रहेको पनि अल्मुतारीले पत्रमा उल्लेख गरेका छन् ।

स्मरण रहोस, केही दिन अघि मात्र व्यवस्थापन पक्ष र प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका रोहित चन्द, सुजल श्रेष्ठ, बिमल घर्ती मगर, अन्जन बिष्ट लगायतका १० सिनियर खेलाडीहरुले क्लोज क्याम्प छाडेका थिए । साथै उनीहरुले त्यसबारे पत्रकार सम्मेलनको आयोजना पनि गरेका थिए ।

सिनियर खेलाडीहरुले बन्द प्रशिक्षण छाडे लगतै प्रशिक्षक अल्मुतारीले थप १७ नयाँ खेलाडीहरुलाई बन्द प्रशिक्षणमा सामेल गरेका थिए । एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली फुटबल टोली थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने कार्यक्रम छ । कतारमा नेपालले अफगानिस्तानसँग मई २३ र २४ तारीखका दिन दुई मैत्रीपूर्ण फुटबल म्याच पनि खेल्नेछ ।

एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले बलियो कुवेतसँगै, जोर्डन र इण्डोनेसियासँग खेल्ने तय भईसकेको छ । जुन महिनाको शुरुवाततिर कुवेतमा हुने छनौट प्रतियोगिताका लागि नेपाली टोली कतारबाटै कुवेत जाने सम्भावना पनि प्रबल छ ।

हेर्नुहोस अल्मुतारीले एन्फालाई पत्रको पूरा अंशः

 

Post Comments