News परिवारलाई प्राथमिकतामा राख्दै भविन्द्र पनि बन्द प्रशिक्षणबाट निस्किए
गोलनेपाल

काठमाडौं । केही दिन अघि मात्र राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा सामेल भएका भारतीय सेनामा कार्यरत भविन्द्र मल्ल ठकुरीले बन्द प्रशिक्षण छाडेका छन् । शुक्रबार भएको एभनिर एफसी, क्यामरुन विरुद्धको दोस्रो मेत्रीपूर्ण खेलमा केही मिनट खेलेका भविन्द्रले आफ्नो सामाजिक सञ्जालमार्फत बन्द प्रशिक्षण छाडेको बताएका छन् ।

भारतीय सेनामा आर्मीको (रातो) टिमबाट फुटबल समेत खेलिरहेका मल्ललाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अर्का गोलरक्षक बिकेश कुथुको ठाउँमा स्थान दिइएको थियो । सिनियर दश खेलाडीहरुले विवादपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण छाडेपछि उनीहरुको स्थानमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले थप १७ नयाँ खेलाडीहरुलाई मौका दिएका थिए ।

त्यहि खेलाडीहरुको सूचीमा बिकेश पनि सामेल थिए । तर उनले पनि आफ्नो व्यक्तिगत कारण जनाउँदै र क्याम्प छाडेका खेलाडीहरुको समर्थनमा उत्रिदै बन्द प्रशिक्षणमा सहभागि नहुने घोषणा गरेका थिए ।

क्याम्प छाडेका मल्लले फुटबल राजनीति भन्दा आफूले परिवारको भविष्यलाई रोजेको कुरा सामाजिक सञ्जालमा लेखेका छन् । त्यस्तै मल्लबाहेक भारतीय सेना मै कार्यरत तथा बन्द प्रशिक्षणमा पर्न सफल अर्का खेलाडी सुनिल श्रेष्ठले पनि राष्ट्रिय टोलीको क्लोज क्याम्प छाडेका छन् ।

स्मरण रहोस, एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली फुटबल टोली थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने कार्यक्रम पनि छ । कतारमा नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच पनि खेल्नेछ ।

आगामी जुनमा हुने एएफसी एसियन कप छनौटतर्फ समूह ए मा परेको नेपालले आयोजक कुवेतसँगै जोर्डन र इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने पनि तय भईसकेको छ ।

 

Post Comments