News नेपाल नेशनल र वाल्मिकी क्वाटरफाइनलमा
गोलनेपाल

बसन्तपुर । पाँचौं माडी कप अन्तरविद्यालय यु–१५ फुटबल प्रतियोगितामा नेपाल नेशनल स्कुल, बिरगंज र वाल्मिकी शिक्षा सदन, भरतपुरले जित हात पारेका छन् ।

सोमबार बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा भएको पहिलो खेलमा नेपाल नेशनल स्कुलले चक्रदेवी स्कुललाई टाईब्रेकरमा ४–२ ले हरायो । यो जितसँगै नेपाल नेशनलले क्वाटरफाइनलमा समेत स्थान सुरक्षित गर्यो ।

त्यस्तै सोमबार नै हुने भनिएको कृष्णनगर मावि र वाल्मिकी शिक्षा सदनबीचको खेलमा कृष्णनगरले नियम विपरित बढी उमेर समूहका खेलाडीहरुलाई मैदानमा प्रवेश गराएपछि आयोजकले कृष्णनगरलाई निष्काशन गरि वाल्मिकीलाई विजयी घोषित गरेको थियो ।

प्रतियोगिता अन्तरगत जेठ १० गते मंगलबारको पहिलो खेल दिव्य कालिका इ.बो. स्कुल र दिवाकर स्मृति मावि (निलो) बीच हुनेछ भने दोस्रो खेल नेपाल राष्ट्रिय प्राविधिक मावि र दिवाकर स्मृति मावि (रातो) बीच हुने आयोजकले जनाएको छ ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा कुल १५ टोलीहरु सहभागि छन् । फाइनल खेल यहि जेठ १५ गतेका दिन हुनेछ ।

 

Post Comments