News भरतपुर मेयर कप : डन, भानु, वाल्मीकी र जनज्योति सेमिफाइनलमा
गोलनेपाल

दोस्रो भरतपुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

आज (मंगलबार) एकैदिन सेमिफाइनल पुग्ने सबै चारै टोलीको टुङ्गो लागेको हो । समूह ए बाट डन एकेडेमी र आदिकवि भानु मावि सेमिफाइनल प्रवेश गरेका छन् । यस्तै समूह बी बाट वाल्मीकि शिक्षा सदन र जनज्योति मावि सेमिफाइनल पुगेका छन् । भरतपुर ७ कृष्णपुरमा भएको पहिलो खेलमा डन एकेडेमीले नेपाल पुलिस स्कुललाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा डनले टाइब्रेकरमा बाजी मार्यो ।

त्यस अघि निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । जसमा डन विजयी भयो । डनले अब फाइनल प्रवेशका लागि आदिकवि भानु माविको सामना गर्नेछ । आजै भरतपुर १२ रामवेलमा भएको खेलमा दुर्गाशेषकान्त माविलाई हराउँदै भानु माविले पनि सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा १-१ गोल भएपछि टाइब्रेकरमा भानु मावि विजयी भयो । उता समूह बी बाट वाल्मीकि शिक्षा सदनले पारिजात माविलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो । भरतपुर ७ कृष्णपुरमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि २-१ ले विजयी भयो ।

यस्तै भरतपुर १४ सुन्दरबस्तीमा भएको खेलमा जनज्योति विजयी भएको छ । अर्बिट स्कुललाई हराएको जनज्योति सेमिफाइनल प्रवेश गरेको छ । जनज्योति ३-१ ले विजयी भएको हो । यससँगै समूह बी बाट फाइनल प्रवेशका लागि वाल्मीकी र जनज्योति भिड्ने पक्का भएको छ । प्रतियोगिताको सेमिफाइनल समिकरण १२ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो सेमिफाइनलमा १२ गते डन एकेडेमी र आदिकवि भानु मावि भिड्नेछन् ।

यस्तै दोस्रो सेमिफाइनलमा १३ गते शुक्रबार वाल्मीकी र जनज्योति भिड्नेछन् । दुबै खेल भरतपुर ७ कृष्णपुरमा हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सुरु भएको प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ स्कुल सहभागी छन् । सेन्ट्रल कलेज प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

Post Comments