News एएफसी यु–२० एसियन कप छनौटः नेपाल, बंगलादेश, भुटान एउटै समूहमा
गोलनेपाल

काठमाडौं । आगामी वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० एसियन कप छनौटका लागि नेपाल छनौट प्रतियोगिताको समूह बी मा परेको छ । मंगलबार क्वालालम्पुर स्थित एएफसीको मुख्यालयमा निकालिएको ड्र अनुसार नेपाल समूह बी मा परेको हो ।

समूह बी मा नेपालसँगै अन्य दुई दक्षिण एसियाली बंगलादेश र भुटान पनि छन् । यी तीन टोलीबाहेक एसियन पावर हाउस कतार र बहराईन पनि समूह बी मै परेका छन् । समूह बीका खेलहरु आउँदो सेप्टेम्बर १० देखि १८ तारीखसम्म हुनेछन् ।

छनौट प्रतियोगितामा सहभागि कुल ४४ देशहरुलाई दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली सोझै फाइनल चरणका लागि छनौट हुनेछन् । त्यस्तै उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने ६ टोलीहरुले पनि फाइनल चरणमा स्थान बनाउन सक्ने छन् ।

साउदी अरेबिया प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । आगामी वर्ष हुने यस प्रतियोगिता खासगरी सन् २०२० मा हुने कार्यक्रम थियो । तर कोभिड–१९ महामारीका कारण प्रतियोगिता सन् २०२३ का लागि सर्न पुगेको थियो ।

Post Comments