News दिवाकर स्मृति (रातो) सेमिफाइनलमा
गोलनेपाल

बसन्तपुर । उत्कृष्ट जित हात पार्दै दिवाकर स्मृति मावि (रातो) यहाँ जारी पाँचौं माडी कप अन्तरविद्यालय यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बसन्तपुर बजार स्थित स्थानीय खेलमैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा दिवाकर स्मृति (रातो) ले नेपाल राष्ट्रिय प्राविधिक माविलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा दिवाकर स्मृतिका प्रभात महतो म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै मंगलबार एक प्रिक्वाटरफाइनल खेल पनि सम्पन्न भएको थियो । जसअन्तरगत दिव्य कालिका इ.बो.स्कुलले दिवाकर स्मृति मा.वि. (निलो) लाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्यो । खेलमा दिव्य कालिकाका निश्चल ढुंगेल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत जेठ ११ गते बुधबार पनि दुई क्वाटरफाइनल खेलहरु हुँदैछन् । जसअन्तरगत पहिलो खेलमा ब्लु बर्ड इ.बो. स्कुल र वाल्मिकी शिक्षा सदन भिड्ने छन् भने दोस्रो खेलमा सपना स्कुल र नेपाल राष्ट्रिय मावि भिड्ने आयोजकले जानकारी दियो ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा कुल १५ टोलीहरु सहभागि छन् । फाइनल खेल यहि जेठ १५ गतेका दिन हुनेछ ।

Post Comments