काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभा कक्षमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी गराए ।
नयाँ मिति मंगलबारै बसेको मन्त्री परिषद्को बैठकले निर्णय गरेको हो । यसअघि नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने तय थियो । मन्त्री गहतराजले मिति सार्नुको कारण प्रस्ट्याउदै भने– ‘सार्वजनिक खरिद ऐन पालना गर्दै काम काज अगाडि बढाउनु पर्ने भएकाले समय अपुग भयो । गण्डकी प्रदेशबाट पनि तयारी समय छोटो भएकाले थप समय माग भयो । मधेश प्रदेशमा पनि खेलकुद परिषद् गठन भइ नसकेकोले तयारी अगाडि बढाउन कठिनाइ भएको लगायतका कारणले गर्दा नवौं राष्ट्रिय खेलकुद केहि समयलाई पछि सार्नु परेको हो ।’
मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदको धेरै महत्वपूर्ण काम अगाडि बढी सकेको बताउदै मिति सरे पनि तयारीमा कुनै कमी नहुने प्रतिबद्धता जनाए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको तयारी सम्बन्धी राखेपको ११२औं बोर्ड बैठक बसी निर्देशिका तथा बजेटको प्रकृया अगाडि बढाएको बताउदै लोगो, मस्कट र नारा छनोट गरी सार्वजनिक भइसकेको जानकारी गराए ।
सदस्य–सचिव घिसिङले टिम छनोटका लागि पत्रचारलगायत कार्य सम्पादन भइसकेको पनि अवगत गराउनु भयो । पत्रकार सम्मेलनमा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका उपाध्यक्ष शिव कोइरालालगायतको उपस्थिति थियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न