News पोखरा : शुभकामना गोल्डकप असार ४ देखी
गोलनेपाल
कोरोना भाइरस र स्थानीय निर्वाचनका कारण रोकिएको छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकपको नयाँ मिति सार्वजानिक भएको छ ।

कोरोना महामारीले ३ वर्ष थलिएपछि स्थगित भएको प्रतियोगितालाई स्थानीय निर्वाचनले समेत प्रभाव पारेको थियो । पोखरा महानगरपालिका २५ स्थित हेम्जा युनाइटेड क्ल्बको आयोजनामा हुँदै आएको प्रतियोगिताको पाँचौ संस्करणसम्म निरन्त संचालन भएपनि छैटौं संस्करणमा आइपुग्दा भने स्थगित हुन पुगेको थियो ।

क्लबले प्रतियोगितालाई निरन्तरता दिदैँ आगामी असार ४ गतेदेखी प्रतियोगिता गर्ने भएको छ । अघिल्लो संस्करण सम्म शुभकामना कपको रुपमा प्रतियोगिता संचालन भएपनि अब भने गोल्डकपको रुपमा संचालन गर्न लागिएको हो ।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल उदेश्यका साथ गौरीशंकर खेल मैदानमा प्रतियोगिता आयोजना हुने भएको क्लबका अध्यक्ष इन्द्र बहादुर कुवरँले जानकारी दिए । ‘प्रतियोगिता असार ४ गतेदेखी ११ गतेसम्म गौरी शंकर खेलमैदानमा हुँदैछ’ उनले भने,‘खेलकुदको माध्यमबाट युवाहरुलाई एकता भाइचारा सम्बन्ध बढाउँदै सृर्जनात्मक तथा रचनात्मक काममा अगाडी बढाउने र एकेडेमी संचालन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।’प्रतियोगिताले स्थानीय स्तरमा नयाँ खेलाडी उत्पादन गर्ने देखि मैदानको स्तरोन्नती सम्मका काम हुनेमा विश्वास रहेको सुनाए ।

८ दिनसम्म संचालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख रपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक इन्द्र प्रसाद त्रिपाठीले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले समान २०–२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार तथा अनुसासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक त्रिपाठीले जानकारी दिए ।

प्रतियोगिताबाट ६३ लाख ५० हजार आम्दानी तथा ६१ लाख ६८ हजार पाँच सय रुपैयाँ खर्च हुने अनुमान रहेको अर्थ संकलन उपसमिति संयोजक जगत थापाले जानकारी दिए ।
क्लबको भावि योजना अन्तरगत शुभकामना गोल्डकपलाई निरन्तरता दिने, खेलमैदानमा प्यारापिट निमार्णमा पहल, विभिन्न खेलकुदलाई विद्यालयमा जोड्न समन्वयकारी भुमिका खेल्ने रहेको छ । प्रतियोगितामा ए डिभिजन र आयोजक सहित ८ टिमको सहभागिता रहने छ । हेम्जा युनाइटेड पोखरामा सम्पन्न कास्की जिल्ला क्लब स्तरीय लिग विजेता समेत हो ।
Post Comments