News महेन्द्र बहुमुखीलाई बीबीए कपको उपाधि
गोलनेपाल

भक्तपुर । महेन्द्र बहुमुखी क्याम्पस, धरानले टियु बीबीए कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा महेन्द्रले सैनिक आवासीयलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । फाइनल खेलको म्यान अफ द म्याच महेन्द्र बहुमुखीका गोलरक्षक रोहित भुजेल घोषित भए ।

भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा भएको प्रतियोगिताको विजेता महेन्द्रले उपाधिसहित नगद ७५ हजार हात पार्यो भने उपविजेता सैनिक आवासीयले ३५ हजारमा चित्त बुझायो । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी महेन्द्र बहुमुखीका सुदिप गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार प्राप्त गरे ।

अन्य व्यक्तिगत विधातर्फ महेन्द्र बहुमुखी कै रोहित भुजेल उत्कृष्ट गोलरक्षक चुनिए भने सैनिक आवासीयका नविन थापा उत्कृष्ट डिफेन्डर घोषित भए । त्यस्तै महेन्द्र बहुमुखी कै पदम बहादुर बिष्ट उत्कृष्ट मिडफिल्डर घोषित हुँदा सैनिक आवासयीका औशत थापा उत्कृष्ट फरवार्ड घोषित भए ।

त्यसैगरी प्रतियोगिताभरि ६ गोल गरेका सैनिक आवासीयका औशत थापा र पिपुल्स क्याम्पसका धिरज केसी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बने । फेयर प्ले टिम भने के एण्ड के कलेज घोषित भयो । सबैले जनही ४–४ हजारका दरले पुरस्कार प्राप्त गरे । सर्वाधिक गोलकर्ताको पुरस्कार भने दुई जनाले बाँडे ।

 

Post Comments