News मकवानपुर गोल्डकपमा पुलिसलाई सफलता
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । विभागीय टोली नेपाल पुलिस क्लब यहाँ जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ पुलिसले खुमलटार युथ क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । पुलिसका लागि शुरुवाती दश मिनट भित्र अभिषेक रिजाल र भरत शाहले गोल गरे । जुन खेलको निर्णायक अग्रता पनि बन्यो ।

उता पराजित खुमलटारका लागि दोस्रो हाफमा दिवस छन्त्यालले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन । खेलमा खुमलटारका गोलकर्ता छन्त्याल म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत जेठ २३ गतेको पहिलो क्वाटरफाइनल खेल दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने जेठ ३० गतेका दिन हुनेछ ।

Post Comments