News देउराली र बाक्सिला क्वाटरफाइनलमा
गोलनेपाल

इटहरी । देउराली फुटबल क्लब, धनकुटा र बाक्सिला फुटबल क्लब, खोटाङ यहाँ जारी प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार इटहरी रंगशालामा सम्पन्न पहिलो खेलमा देउरालीले कोदार फुटबल क्लब, भोजपुरलाई ४–२ ले हरायो । देउरालीको जितमा समिर लिम्बुले दुई गोल गरे भने सञ्जय रम्तेल र दिवश लिम्बुले एक–एक गोल गरे ।

उता पराजित कोदारका लागि लक्ष्मण तामाङ र बिजय भुजेलले गोल गरे । खेलमा देउरालीका समिर लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१०० र मेडल हात पारे ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा बाक्सिलाले मानभरा स्र्पोटिङ क्लब, ताप्लेजुङलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा बाक्सिलाका गोलरक्षक किरण राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २१०० र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत जेठ २८ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल मोतीराम एफसी, मोरङ र फ्युजन एफसी, उदयपुरबीच हुनेछ भने दोस्रो क्वाटरफाइनल खेल धरान एफसी, सुनसरी र खाँदबारी युथ क्लब, संखुवासभाबीच हुने आयोजकले जनाएको छ ।

प्रदेश १ खेलकुद बोर्डको आयोजना तथा इटहरी फुटबल क्लब, सुनसरीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो असार १ गतेका दिन हुनेछ ।

 

Post Comments