News रामपुर युनाइटेडलाई फुटसल उपाधि
सुरज राना मगर

पाल्पा । प्रथम एलजी एसोसिएशन खुला फुटसल प्रतियोगिताको उपाधि रामपुर युनाइटेड एफसीले जितेको छ । रामपुर–५, मटेरी, पाल्पा स्थित रामपुर फुटसलमा सम्पन्न फाइनल भिडन्तमा रामपुर युनाइटेडले आयोजक लालीगुराँसलाई ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको रामपुर युनाइटेडले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता लालीगुराँसले १० हजारमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी केशवराज श्रेष्ठ चुनिए । त्यस्तै उत्कृष्ट गोलरक्षक सुस्मित हमाल बन्दा इमर्जिङ प्लेयरको पुरस्कार क्षितिज रानाले हात पारे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २ हजार र ट्रफी हात पारेको प्रतियोगिता संयोजक कमल रानाले जानकारी दिए । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी रामपुर नगरपालिका वार्ड नम्बर ५ का अध्यक्ष दुर्गा पोख्रेल, आयोजक एलजी (लालीगुराँस) एसोसिएशनका अध्यक्ष आदेश राना लगायतले पुरस्कृत गरे ।

युवा खेलाडीहरुलाई फुटसलमा लाग्न र राष्ट्रियस्तर मै प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक कमल रानाले बताए ।

साथै प्रतियोगितालाई आगामी दिनहरुमा पनि अझ भव्यताका साथ सम्पन्न गर्ने योजना रहेको आयोजक क्लबका अध्यक्ष आदेश रानाले बताए । सो अवसरमा प्रतियोगिता सम्पन्न सहयोग पुर्याउने सबैलाई धन्यवाद र आभार समेत प्रकट गरे ।

Post Comments