News रारा एफसी, भलुवा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

दुहबी । रारा फुटबल क्लब, धनकुटा यहाँ जारी आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई २–४ ले हराउँदै रारा अन्तिम चारमा प्रवेश गरेको हो ।

भलुवा खेलमैदानमा सम्पन्न खेलमा शुरुवाती अग्रता भने चर्च ब्वाईजले लिएको थियो । १७औं मिनटमा मिलन राईको गोलबाट अग्रता लिएको चर्च ब्वाईजले त्यसलाई निरन्तरता दिन सकेन । ४८औं मिनटमा निशान लिम्बुले राराका लागि बराबरी गोल फर्काए । ५२औं मिनटमा बिरेन चेम्जोङले राराका लागि दोस्रो गोल थपे ।

रोमाञ्चक बनेको खेलको ७६औं मिनटमा शिशिर लेखीले राराका लागि तेस्रो गोल गरे । यद्यपि ८२औं मिनटमा सनम भुजेलले चर्च ब्वाईजका लागि दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । गोल खाएको दुई मिनट लगतै आशिष चेम्जोङले चौथो गोल गर्दै राराको जित पक्का गरेका थिए ।

खेलमा राराका निशान लिम्बु म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका प्रमुख अतिथी रमेश रौनियारले नगद ५ हजारसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत असार ३ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल एभनिर एफसी, क्यामरुन र औराबनी युथ क्लब, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

श्री गोल्डेन स्टार युथ क्लबको आयोजना तथा दुहबी नगरपालिकाको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असार ६ गतेका दिन हुनेछ ।

Post Comments