News के प्रशिक्षक अल्मुताइरी नेपाल नफर्कने हुन् ?
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरी नेपाल नफर्कने भएका छन् । एन्फाको केन्द्रिय निर्वाचनबाट पंकज विक्रम नेम्वाङ नयाँ अध्यक्षका रुपमा निर्वाचित भएको केही समय लगतै अल्मुताईरीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत सो कुराको घोषणा गरेका हुन् ।

“नेपाली फुटबल, समर्थक र नेपाल सधैभरि मेरो मनमा रहनेछन् । भविष्यमा थप प्रगतिका लागि नेपाली फुटबललाई शुभकामना । माया र समर्थनका लागि सबैलाई धन्यवाद ।” अल्मुताईरीले लेखेका छन् ।

केही साता अघि सम्पन्न एएफसी एसियन कप छनौटतर्फ कुवेत विरुद्धको खेलका क्रममा अचेत भई मैदानमा ढलेका अल्मुताईरी अहिले परिवारसँगै स्वास्थ्य लाभ गरिरहेका छन् । उनले यसअघि पनि आफू अस्वस्थ्य रहेको कुरा बताउँदै आएका थिए । एसियन कप छनौट सकिए लगतै नेपाली टोली कुवेतबाट स्वदेश फर्किए तापनि अल्मुताईरीले भने विदा लिएका थिए ।

नेपाली फुटबलमा उनको आगामी भविष्य एन्फा कै केन्द्रिय निर्वाचनले तय गर्ने धेरैले अनुमान गरेका थिए । नभन्दै उनले एन्फाको निर्वाचन कै बेला नेपाली फुटबलबाट विदा लिने घोषणा गरेका हुन् । त्यसो त उनलाई कतिपयले कर्मा छिरिङ शेर्पा निकट पनि मान्दै आएका थिए ।

नेपाल आए लगतै केही विवादमा पनि मुछिएका अल्मुताईरी नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङसँगको विवादका कारण पनि चर्चामा थिए । त्यस्तै एसियन कप छनौट अघि बन्द प्रशिक्षणमा रहेका सिनियर खेलाडीहरुसँगको विवादका कारण पनि उनको चर्चा थप चुलिएको थियो ।

कतार फुटबल एसोसिएशनको विशेष सहयोगमा नेपाल आएका अल्मुताईरीको सम्झौता आगामी वर्षसम्मको थियो । उनकै नेतृत्वमा नेपालले गत वर्ष माल्दिभ्समा सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनल खेलेको थियो ।

Post Comments