News पोखरामा बगर भाइखलक भेट्रान फुटबल यसै सातादेखि
गोलनेपाल

पोखरा । पर्यटकीय नगरी पोखराको परिचित तथा प्रतिष्ठित सामाजिक संस्था बगर भाईखलकले यहि माघ पहिलो सातादेखि स्व. रन्जित गुरुङ स्मृति नवौं बगर भाइखलक एट–ए–साईड भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यहि माघ ६ देखि ११ गते सम्म पोखरा स्थित पुरानो टुँडीखेल मैदानमा आयोजना हुन गईरहेको प्रतियोगिताकोे सम्पूर्ण तयारी पनि पुरा भएको आयोजकले जनाएको छ ।

‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नाराका साथ संस्थाले २०६८ सालदेखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरु समेटेर भेट्रान फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको छ ।

यसपटक प्रतियोगितामा दुई विदेशी टिम सहित काठमाण्डौं, विरगन्ज, हेटौढा, चितवन, वुटवल, कैलाली लगायत स्थानिय टिमहरु करिब २८ टिमको सहभागिता रहने आयोजकले जानकारी दियो । स्मरण रहोस, प्रतियोगिताको आठौं संस्करणको उपाधि ए.वि.सी., पोखराले जितेको थियो ।

प्रतियोगितामा यसपटक पुरस्कार राशीमा पनि दश हजार वृद्धी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । यस वर्ष प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ११ हजारm रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी यस वर्षदेखि सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद १० हजार प्रोत्साहन स्वरुप प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुले जनही ५–५ हजार हात पार्नेछन् भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व अन्तर्राष्ट्रिय खेलाड तथा प्रशिक्षक खड्क बहादुर रानाभाटलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने पनि बगर भाई खलकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न १४ लाख ५० हजार खर्च लाग्ने र १७ लाख आम्दानी गरिने लक्ष्य रहेको संस्थाले जनाएको छ । स्व. रन्जित गुरुङका परिवारले संयुक्त रुपमा प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन ।

यसैगरी प्रतियोगितालाई वगर भाइ खलक युकेले सह–प्रायोजन गर्ने भएको छ । वगर भाइ खलक युकेबाट प्रतियोगिताका लागि आकर्षक र स्तरिय मेडल र ट्रफीहरु सौजन्य स्वरुप पठाउने छ ।

Post Comments