News नवयुवा र सञ्जिवनी उपाधिका लागि भिड्ने
सुरज राना मगर

तिलोत्तमा । प्रथम नव टिकुलीगढ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा नवयुवा क्लब (सेतो) तथा सञ्जिवनी युथ क्लब भिड्ने भएका छन् ।

बिहीबार सम्पन्न दुई सेमिफाइनलमा आ–आफ्नो खेलमा जित निकाल्दै नवयुवा र सञ्जिवनी उपाधि नजिक पुगेका हुन् । तिलोत्तमा–१४ स्थित टिकुलीगढ खेलमैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा नवयुवा क्लबले लिस्नु युवा क्लबलाई १–० ले हरायो । नवयुवा (सेतो) को जितमा निराजन खत्रीले एक मात्र गोल गरे ।

त्यस्तै दोस्रो सेमिफाइनलमा सञ्जिवनीले नवयुवा क्लब (रातो) लाई समान १–० अन्तरले हरायो । सञ्जिवनीको जितमा मोहन थापा मगरले एक मात्र निर्णायक गोल गरे ।

अब उपाधिका लागि नवयुवा (सेतो) र सञ्जिवनी यहि साउन २८ गते शनिबारका दिन फाइनलमा भिड्ने प्रतियोगिता संयोजक मोहन श्रीसले जानकारी दिए । फाइनल अघि मैत्रीपुर्ण फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम पनि हुने संयोजक श्रीसले बताए ।

टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४ , रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष तोरन गुरुङले जानकारी दिए ।

 

Post Comments