News नव जन जागृति युवा क्लबले यु–१५ राष्ट्रिय फूटवल खेलाडी मोहित गुरुङलाई नगदसहित सम्मान
गोलनेपाल

नव जन जागृति युवा क्लबको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा क्लबले यु–१५ राष्ट्रिय फूटवल खेलाडी मोहित गुरुङलाई नगदसहित सम्मान गरेको छ । क्लबको शनिवार आयोजित १२औं वार्षिक साधारण सभामा सिमरा घर भएका खेलाडी गुरुङलाई नगद १५ हजारसहित सम्मान गरिएको हो ।

प्रदेश सभा सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरुङ, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल र क्लबका अध्यक्ष कासिम मियाले खेलाडी गुरुङलाई सम्मान गरेका थिए । क्लबले सञ्चालन गरेको सिमरा एकेडेमीका उत्पादन गुरुङ पछिल्लो समय देशको १५ वर्ष मुनिको टोलीबाट फूटवल खेलिरहेका छन् । गत असोजमा जोर्डनमा सम्पन्न एएफसी यु–१६ च्यम्पियनशिप छनोटमा गुरुङले श्रीलंकाविरुद्ध एक गोल गरेका थिए ।

सिमरा गोल्डकपको आयोजनासंगै दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर क्लबले संचालन गरेको एकेडेमीमा फूटवल सिक्दै मोहित राष्ट्रिय टिममा पर्न सफल भएका हुन् । एकेडेमीबाट उत्पादन भएका अन्य खेलाडीहरु विभिन्न बि डिभिजनको क्लबमा आवद्ध छन् । उत्कृष्ट खेल प्रदर्शन गरेकै कारण राष्ट्रिय टिममा पर्न सफल गुरुङले सिमराको गौरवलाई उचाईमा लगेको भन्दै क्लबले सम्मान गरेको अध्यक्ष मियाले बताएका छन् । मियाले सिमरालाई फूटवल हबको रुपमा बिकास गर्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा समेत आफूले राखेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य बिश्वकर्माले सिमरा गोल्डकपको एक दशकको यात्राले सिमरालाई फूटवलको उर्वर भूमिको रुपमा स्थापित गर्न सफल भएको बताएका छन् । औद्योगिक करिडोर क्षेत्र र शहरोन्मुख सिमरामा फूटवलको सम्भावना देखेर गोल्डकपको आयोजना सुरु गर्नु सुखद पक्ष रहेको भन्दै बिश्वकर्माले फूटवलको बिकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सभा सदस्य सिता गुरुङ र शोभा लामाले जनजागृति युवा क्लबले आयोजना गर्दै आएको सिमरा गोल्डकप र क्लबको भवन तथा अन्य पूर्वाधार निर्माण गर्न आफूहरुले सहयोग गर्ने बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. पौडेलले सिमराकै पहिचानको रुपमा स्थापित भएको सिमरा गोल्डकपको निरन्तरता र क्लबको भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन उपमहानगर सकारात्मक रहेको बताए ।

कार्यक्रममा क्लबका संरक्षक तथा पूर्वसभासद जयराम दहाल, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक गोविन्द पुरि, वडाअध्यक्ष तिलकबहादुर श्रेष्ठ, नेकपा नेता मनोज पौडेल, कृष्ण खनाल, नेपाली कांग्रेस नगर सभापति श्यामबाबू गुप्ता, कांग्रेस नेता छवि शर्मा, क्लबका सल्लाहकार भोलाप्रसाद अधिकारी, मुकुन्दबहादुर क्षेत्री, जनहित सामुदायिक वन उपभोक्ता समिती अमृतलाल श्रेष्ठ, मिनप्रसाद आपागाईलगायतले मन्तब्य राखेका थिए ।

क्लबका अध्यक्ष मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शालिकराम अधिकारीले गरेका थिए ।

Post Comments