News आयोजक नागस्वती बी फाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । आयोजक नागस्वती भेट्रान्स बी यहाँ जारी प्रथम नागस्वती भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा बगरभाई खलक, पोखरालाई शून्यका विरुद्ध २ गोलले हराउँदै आयोजकको बी टिम उपाधि नजिक पुगेको हो । नवज्योति माविको खेलमैदानमा सम्पन्न फाइनलमा आयोजकका लागि दुवै गोल विकल्प श्रेष्ठले गरे । श्रेष्ठ नै खेलको म्यान अफ द म्याच घोषित भए ।

नागस्वतीले फाइनलमा बुधबार नै ४ बजेदेखि हुने खेलमा ठमेल चिया पब, काठमाडौंसँग उपाधिका लागि भिड्नेछ । खासगरी मंगलबार नै हुने भनिएको दोस्रो सेमिफाइनल खेल प्रतिकुल मौसमका कारण हुन नसकेपछि सोही खेललाई बुधबार बिहान खेलाइएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार पाउने आयोजकले जनाएको छ । उक्त पुरस्कार रकम हेटौडा स्कुल अफ म्यानेजमेण्टले प्रायोजन गरेको पनि आयोजक क्लबका अध्यक्ष सोम बहादुर तितुङले जानकारी दिए ।

Post Comments